नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन वाम शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठनको नयाँ कार्यसमितिलाई सम्मान गर्न पार्टीको प्रचार विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन वाम शक्तिको उल्लेखनीय भूमिका निर्वाह गरेको स्मरण गर्दै यो उपलब्धिलाई खलबलाउने प्रयास भइरहेकाले वामपन्थी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिता क्षेत्रको क्रियाशीलताको खाँचो औँल्याउँदै उहाँले सभ्य समाज निर्माणका लागि सञ्चारजगतले राम्रो र सकारात्मक सन्देशलाई महत्व दिनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले परिवर्तन राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्व रहेको उल्लेख गर्दै राजनीतिज्ञले जनताको सुख र समृद्धिका लागि कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समृद्ध मुलुक निर्माणका लागि सुशासन कायम गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि भ्रष्टाचार बाधक रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले राजनीति विकृत बन्दै गएकाले जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान टुक्का जनताले गर्न थालेकाले त्यसतर्फ राजनीतिक दल सचेत हुनुपर्ने सुझाव दिनुभयो । शिक्षा स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीका सम्मनित नेता झलनाथ खनालले पत्रकारितामा अहिले पुँजीवादी र समाजवादी धार रहेको भन्दै समाजवादी विचारलाई स्थापित गर्न सङ्गठनले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हालै भारतले लुम्बिनी र कपिलवस्तुका भूभाग राखेर नक्सा छाप्ने कार्य आपत्तिजनक रहेको बताउँदै राष्ट्रियतालाई बलियो बनाउन पत्रकारिता क्षेत्रले यसको विरोधमा जनमत निर्माण गर्नुपर्ने बताउनुभयो ।
पार्टी उपाध्यक्ष प्रमेश हमालले समाजमा विद्यमान विकृति र सामाजिक विभेदका विरुद्ध पत्रकार क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सङ्गठनले विकृतिका विरुद्ध र सामाजिक न्यायका पक्षमा कार्य गर्नुपर्ने बताउनुभयो ।
सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले सबै श्रमजीवी पत्रकारको हकहित र अधिकारको संरक्षणका लागि सङ्गठन क्रियाशील रहेको बताउनुभयो । वरिष्ठ पत्रकार शन्तराम बिडारीले मोफसलका सञ्चारमाध्यमको संरक्षणका लागि लोककल्याणकारी विज्ञापन वितरण सन्तुलित बनाउन माग गर्नुभयो । रासस