कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ ।

केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उहाँको अब भन्ने त्यो दुःखको दिन गएको छ । पुँजीका आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुःखको दिन गएको हो ।

गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी सदाको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै हराउन थालेको सदा बताउनुहुन्छ ।

“केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर दुई वर्षअघि न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ, “व्यापार गर्ने इच्छा भए पनि पुँजी आभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन, तर २०७८ सालमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित दिनाराम दिनाभद्री बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उहाँको कथन छ ।

कलमतदेवीले पसल चलाउन थालेपछि अहिले उहाँका श्रीमान् विहारी सदाले पनि उहाँलाई सघाइरहनुभएको छ । “म पसल चलाउँछु, श्रीमान्ले नजिकैको बोदे बसाइन बजार र मानराजबाट पसलका लागि चाहिने सामान ल्याई दिनुहुन्छ”, कलमतदेवी भन्नुहुन्छ, “अहिले हामी दुवै जना मिलेर पसल चलाइरहेका छौँ ।” पसलबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उहाँको कथन छ । रासस