झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले (एनएमसी)ले आफ्नै ब्रान्डको सिटिसी चिया बजारमा ल्याएको छ । झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीले हाल चियासहित पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाले चिया उत्पादन, बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म र सहकारी पसल सञ्चालन गरिरहेको छ ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार चिया व्यवसायअन्तर्गत संस्थाले पहिलेदेखि नै अर्थोडक्स चियाअन्तर्गत ‘ग्रीन टी’ र ‘ब्ल्याक टी’ बजारमा ल्याएको थियो भने हालै सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको हो । एनएमसी टी ब्रान्डमा पाँच सय ग्राम र दुई सय ग्रामका प्याकेट बजारमा उपलब्ध छन् ।

अर्थोडक्स चियाका पारखीको माग अनुसार नै उद्योगले सिटिसी चिया बजारमा ल्याएको र यसलाई चियाका पारखी उपभोक्ताले मन पराइदिने अपेक्षा राखिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । एनएमसीका चिया नेपाली बगानबाट उत्पादित, उत्कृष्ट, गुणस्तरीय र ताजा रहेको भन्दै उहाँले यसको उत्पादन र प्रशोधनमा चिया विज्ञको परामर्श लिई प्रयोगशाला परीक्षण गरेर मात्र बजारमा पठाइएको जानकारी दिनुभयो ।

संस्थाले विसं २०५२ देखि बचत तथा ऋणको व्यवसाय, विसं २०७२ देखि बहुव्यवसाय, विसं २०७२ वैशाखदेखि एनएमसी डेरी उद्योग र विसं २०७५ मादेखि एनएमसी कृषि फार्म सुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । मेचीनगर–१४ दुहागढीमा १६ बिघा जमिन खरिद गर्नुका साथै १० बिघा भाडामा लिएर कृषि व्यवसाय गरिएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार विसं २०७६ वैशाखदेखि एनएमसी सहकारीले पसल सुरु गरी हाल १६ स्थानमा पसल सञ्चालनमा छन् । पछिल्लो व्यवसायको रूपमा विसं २०७८ असारदेखि झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग सुरु गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

चिया व्यवसाय विस्तारका क्रममा आर्थिक वर्ष २०७८/७९ मा इलामका तीनवटा चिया सहकारी संस्था (साँघुबेँसी, सिद्धपोखरी र इलामेली)सँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्ने गरिएको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९ मा ७५ हजार केजी तयारी अर्थोडक्स (ग्रीन टी र ब्ल्याक टी) चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री गरिएको जनाउँदै अध्यक्ष उप्रेतीले आउँदो आवमा त्यसलाई बढाएर दुई लाख केजी पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

रासस