२९ जेठ, दाेधारा चाँदनी ।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ । यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो । बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका बेला यसवर्ष पनि मागअनुसार बजेट नआउँदा आयोजनाको काम पछि धकेलिने चिन्ता थपिएको छ ।

महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण पन्ध्र वर्षसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर शम्भु पण्डितले माग अनुसार बजेट नआएको बताउनुभयो । “आगामी आर्थिक वर्षमा आयोजनाका लागि रू एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा रू एक अर्ब २३ करोड बजेट छुट्याइएको थियो ।”

आयोजनाका लागि आव २०८०/८१ का लागि रू दुई अर्ब बजेट माग गरिएकामा रू एक अर्ब १७ करोड विनियोजन भएको इञ्जिनियर पण्डितले जानकारी दिनुभयो । माग भन्दा निकै कम बजेट आएपछि आयोजना निमार्णको काम प्रभावित हुने उहाँको भनाइ थियो ।

आयोजनाअन्तर्गत आगामी आवमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने योजना छ भने निर्माण सम्पन्न भएको मूल नहरको २८ किलोमिटरमा २२ शाखा निर्माण गरी किसानलाई सिँचाइका लागि पानी पुर्‍याउने लक्ष्य रहेको इञ्जिनियर पण्डितले बताउनुभयो ।

आर्थिक वर्ष २०६३/६४ देखि आयोजनाको काम सुरु भएको थियो । “केहीवर्ष मुआब्जा विवादका कारण काम सुरु हुन सकेन् । काम सुरु भएपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतीमा काम भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखिए पनि आवश्कताअनुसार बजेट आउन नसकेपछि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।”

त्यस्तै, सुदूरपश्चिमको महत्वपूर्ण योजना मानिएको महाकाली करिडोरमा पनि आवश्यकता अनुसार बजेट आएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म जोड्ने निर्माणाधीन उक्त सडकले पनि न्यून बजेटका कारण गति लिन सकेको छैन ।

महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले यसवर्ष करिडोरका लागि माग गरेको भन्दाआधा मात्रै बजेट आएका बताउनुभयो । “रू ८० करोड माग गरिएकामा रू ४५ करोड मात्रै विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षका लागि महाकाली करिडोरले रू ५१ करोड बजेट पाएको थियो आगामी वर्षका लागि झन घटेर आएको छ ।”

आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिङ्करसम्म चार सय २५ किलोमिटरमध्ये दार्चुलाको तुषारपानीसम्म तीन सय ३४ किलोमिटर आयोजनाले र तुषारपानीदेखि टिङ्करसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । सेनाले निर्माण गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि रू ४५ करोड विनियोजन भएको प्रमुख जोशीले जानकारी दिनुभयो । आयोजना कार्यालयका अनुसार तीन सय ३४ किमीमध्ये अझै एक सय नौ किमी ट्र्याक खोल्न बाँकी छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले राष्ट्रिय गौरवका आयोजनाको बजेट घटनु दुःखद भएको बताउनुभयो । “पाँच वर्षमा सम्पन्न हुने आयोजना पन्ध्र वर्ष पुग्दा पनि सम्पन्न हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “सरकारले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राखेर आवश्यकता अनुसार बजेट विनियोजन गर्नु पर्दछ ।” न्यून बजेटका कारण आयोजनाको काम हालसम्म पनि सम्पन्न हुन नसकेको उहाँको भनाइ थियो । स्राेत रासस