कालीकोटमा गत असोजमा बाढीपहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् । प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही रु दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन् । २३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा नगरपालिका–४ मा मलामी जाँदा पहिरामा परेर १३ जनाको मृत्यु भएका थियो ।
पहिरामा मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेशबहादुर शाही, छत्रजङ्ग शाही, परबहादुर शाही र मोतिलाल शाहीका आफन्तले रु दुई लाखको दरले रु २६ लाख रकम परिपूरणस्वरुप उहाँहरुका परिवारले हन्तारन्तरण गरिएको छ ।
बीमाबापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा गर्ने राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण जिसीले पहिरामा परी मृत्यु हुनुभएका तिलागुफा–४ राँचुलीका धनबहादुर शाहीका हकवाला खड्कराज शाहीलाई चेक हस्तान्तरण गर्नुभयो । अन्यका हकमा मृतक परिवारको बैंक खातामा जम्मा गर्ने सहमति भएको छ ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । “बीमा कार्यक्रमबाट नागरिकले सास्ती नपाउन, समयमै उनीहरुले प्रदेश सरकारबाट पाउने रु दुई लाख पाउन सकून्”, उहाँले भन्नुभयो, “यो रु दुई लाखले पीडित परिवारले सबैथोक नपुगे पनि कम्तीमा दुःख पीडामा नागरिक पर्दा प्रदेश सरकार साथमा छ भन्ने मात्रै ध्येय रहेको छ ।रासस