चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् ।

यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले । सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो ।

सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार परियोजनाले घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ–छ महिनामा पुरस्कार वितरण गर्दै आएको छ । आफ्नै घर सफा गर्दा, आफ्नैका लागि आयआर्जनका काम गर्दा पुरस्कृत हुने भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ ।

“उनीहरू आफँैका लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ आयआर्जनका लागि पशुपालन गर्छन्, तरकारी खेती गर्छन् बालबालिका नियमित विद्यालय पठाउँछन्, उनीहरुलाई पुरस्कृत गछौँ, आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिए हो”, उहाँले भन्नुभयो ।”

वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्”, उहाँले भन्नुभयो ।

वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्”, उहाँले भन्नुभयो ।

प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनुभएकी वडा नं १ कै थाप्राङकी सानु कान्छी चेपाङले पनि विगतका वर्षमा भन्दा यहाँका आफ्नो समुदायको जीवनशैली फरिएको बताउनुभयो । खेती किसान पशुपालनमा रुचि नराख्नेहरु आजभोलि व्यावसायिकरूपमा तरकारी खेती गर्ने पशुपालन गर्ने सरसफाइमा ध्यान दिने गरेको उहाँले सुनाउनुभयो ।

हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस परियोजनाले विद्यालयलाई सहयोग गरेको छ, विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको छ, त्यतिमात्र होइन, घर–घरमा–समुदायमा जनचेतना फैलाउने काम गरेका छन्, परियोजना सञ्चालनपछि विद्यालयमा बालबालिका नियमित आउने गरेका छन् ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ, सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्कम जीवनशैलीलाई आफैँले निरन्तता दिनुपर्छ ।” आवश्यकताका आधारमा यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।रासस