झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि रु ७५ लाख बजेट विनियोजन भएको छ । शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो ।

योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि रु ७० लाख विनियोजन गरिएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनले बताउनुभयो ।

यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन भएको छ ।सोही गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्रप्रसाद चम्लगाईंले बताउनुभयो । सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको छ ।

भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । तीनवर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो । यता विर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । रासस