पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो ।

मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन एकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो ।

मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागतीसहितका सुन्तलाजातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्सजस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बाली छन् । कार्यक्रम कोशी प्रदेशमा सात जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा दुई हजार दुई सय हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यान्वयनका लागि कृषकले प्रत्येक ब्लकमा एक हेक्टर क्षेत्रफल काष्ठफल तथा फलफूल लगाउनुपर्छ । यसमा एक जना किसानले न्यूनतम चार रोपनी क्षेत्रफलमा काष्ठफल तथा फलफूल लगाउनुपर्ने आयोजनाले व्यवस्था गरेको छ ।
रासस