कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका सभासम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण हुनथालेको छ ।

युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १९ देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीको अन्तरराष्ट्रियस्तरको सम्मेलन हालै श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएपछि अन्य सभासम्मेलन पनि हुन थालेका छन् ।

राज्यसरकारका अनुसार आगामी असार १४ देखि १८ गतेसम्म कानुनी सेवासम्बन्धी राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ । देशभरका उच्च अदालतका दुई सय न्यायाधीश पहिलोपटक आयोजना गरिएको यस्तो सम्मेलनमा सहभागी हुन श्रीनगरमा भेला हुने भएका छन् ।

गत मेमा यस्तै प्रकृतिको राष्ट्रिय सम्मेलन र हालै मञ्च जी ट्वेन्टीको बैठक सफलतापूर्वक सम्पन्न भएपछि विगतमा हिंसाले धूमिल पारेको श्रीनगरको छवि पुनःस्थापना गर्न पनि कानुनी सेवासम्बन्धी राष्ट्रिय सम्मेलन श्रीनगरमा आयोजना गर्ने निर्णय भएको अधिकारीले बताएका छन् ।

सम्मेलनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचुड, केन्द्रीय कानुन तथा न्याय राज्यमन्त्री अर्जुनराम मेधवालसहित दुई सय जनाभन्दा बढी न्यायधीश, कानुन र न्याय क्षेत्रका प्रवुद्ध व्यक्तिले भाग लिने जम्मुकाश्मिर कानुनी सेवा प्राधिकरणले बताएको छ । रासस