गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

“गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो”, उहाँले भन्नुभयो । मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउनुहुन्छ ।

“कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो– “यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ ।” पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको छ । पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।रासस