पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् ।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने नीति सार्वजनिक गरेको भन्दै उक्त नीतिले पर्यटन व्यवसायी मारमा पर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले हवाई टिकटमा भ्याट लगाउने नियमले यात्रुलाई टुर प्याकेजमा महङ्गो हुने र नेपाल आउने पर्यटक घट्नसक्ने बताउनुभयो । “नेपालबाट विदेश जाने यात्रुले हवाई टिकटमा भ्याट लगाउँदा भ्याट नतिर्नका लागि विदेशबाट टिकट काट्न सक्छन्, जसले गर्दा नेपाली ट्राभल कम्पनी मारमा पर्न सक्छन्, सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्दैन”, उहाँले भन्नुभयो ।

उहाँले सरकारले बजेट प्रस्तुत गर्नुपूर्व सरोकारवाला निकायसँग छलफल नगर्दा समग्र पर्यटन उद्योगलाई नै असर पर्ने चिन्ता बढेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज् एसोसिएस न अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले सरकारले पर्यटन क्षेत्रबाट व्यवसायीलाई वञ्चित गराउन खोजेको बताउनुभयो । पर्यटनलाई उद्योगका रुपमा मान्यता नदिँदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण ब्याजदर तथा बिजुली शुल्क आदिबाट पर्यटन क्षेत्र वञ्चित हुनुपरेको उहाँको भनाइ छ । रासस