महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी रहेको छ ।

गत शुक्रबारदेखि नै विभिन्न अनुष्ठानका साथ सुरु भएको संसारीमाईको सप्ताहव्यापी पूजा विधिको आज अन्तिम दिन बलि प्रदान गरेसँगै समापन हुने छ ।

संसारीमाईको पुजारी महेन्द्र मुखियाले पञ्चबलि आज दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले संसारीमाईको पूजा जारी रहेको बताउनुभयो । प्रत्येक पाँच वर्षमा एक पटक मात्रै हुने संसारीमाईको यस वर्षको पूजाविधि गत शुक्रबारदेखि विधिवत् सुरु भएको थियो ।

महापूजाको अन्तिम दिन आज पशु पंक्षीको बलिपश्चात् पूजा समापन हुने संसारीमाई पूजा समितिका अध्यक्ष अशोककुमार साहले बताउनुभयो ।

सप्ताहव्यापी महापूजाको पहिलो दिन गत शुक्रबार जलेश्वर नगरपालिका–२ स्थित बरुण सरोवरको पूर्वी दक्षिणी कुनाको डिलमा अवस्थित मन्दिरको सर सफाइ तथा विशेष जल (गङ्गाजलसहित) ले पखालेर शुद्धीकरण गरिएको थियो । सोही दिन जलेश्वर नगरभरि नै सरसफाइ तथा शुद्धीकरण कार्यक्रम गरिएको थियो । सरसफाइ कार्यक्रममा श्रद्धालु भक्तजनका सरिक भएका थिए ।

अनादिकालदेखि नै अपार शक्ति एवं आस्थाको केन्द्र मानिएको प्रसिद्ध शक्तिपीठ संसारीमाईको महापूजाको सप्ताह व्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन शनिबार कलश शोभायात्रा गरिएको थियो ।
त्यसैगरी महापूजाको चौथो दिन माता संसारीको नगरीमा रहनुभएका बाबा जलेश्वरनाथ (नगर देवता) को मन्दिरमा लखराम पूजा गरिएको संसारीमाई महापूजा समितिका अध्यक्ष साहले बताउनुभयो ।

संसारीमाई महापूजाको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन सोमबारदेखि आज अन्तिम आज संसारीमाईको खोइछ भराइ एवं प्रसाद चढाउने कार्यक्रम भइरहेको छ । खोइछ भराइ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रत्येक घरका तथा माताप्रति आस्था भएका अन्य गाउँठाउँसहित भारतीय विभिन्न गाउँठाउँबाट पनि विवाहित महिला आएर मातालाई खोइछ भरिरहेका छन् ।

खोईछमा मातालाई अक्षेता, फूल, फल, सिन्दूर, टीका, मिठाई, नरिवल, शुङ्गार वस्तु, सुन चाँदी चढाउने परम्परा रहेको छ ।

यसैबीच महापूजाको पाँचौँ दिन मङ्गलबार माताको पूजाअन्तर्गत नै हनुमान आराधना गरिएको थियो छैटौँ दिन बुधबार अष्टजाम कार्यक्रम गरिएको थियो । महापूजाको सातौँ दिन बिहीबार (हिजो)देखि विशुद्धरुपमा माता संसारीको पूजाको आरम्भ भएको छ । यस दिनमा माता संसारीलाई महापूजाको लागि आह्वान गरिएको छ । जस कार्यक्रमलाई देवबोलीमा (बिडी सलामी) भनिन्छ । माता संसारीको मुख्य पुजारी महेन्द्र मुखियाले बिहीबार माता संसारीलाई मन्दिरमा विराजमान हुन तथा पूजा, बलि स्वीकार गर्नका लागि निम्तो दिएका छन् ।

यस दिनमा निक्कै धुमधामका साथ मुख्य पुजारीले ठूलो भजनकीर्तनको आयोजना गरेर देवी संसारीलाई आह्वान गरेका छन् र मातालाई बिडी सलामी (निम्तो) दिएका छन् । त्यसैगरी बिहीबार नै साँझ माता संसारीको मन्दिरमा महाआरती पनि गरिएको छ ।

बलि प्रदानको क्रममा जलेश्वर नगरक्षेत्रभित्र बस्ने प्रत्येक नगरवासीले संसारीमाईलाई अनिवार्यरुपमा बलि प्रदान गर्ने परम्परा रहेको छ ।

संसारीमाई संसारकै सबै वर्ग, जातजाति तथा व्यक्तिको आस्थाको केन्द्रविन्दुको रुपमा रहनुभएकाले उहाँलाई बलिको रुपमा प्रदान गरिने प्रत्येक बस्तुको बलि प्रदान गरिने चलन रहेको छ ।

सुरुमा माता संसारीलाई पाँच जीवको पञ्चबलि चढाइन्छ भने त्यसपछि उहाँलाई आस्था र क्षमताअनुसार भक्तजनले मुसो, परेवा, हाँस, कुखुरा, बोका, सँुगुर, बङ्गुर र अन्त्यमा राँगा बलि प्रदान गरिन्छ ।

प्रत्येक पाँच वर्षको अन्तरालमा हुने संसारीमाईको महापूजा यसअघि विसं २०७५ वैशाख २१ गतेको दिन भएको संसारीमाईको पुजारी (धामी) महेन्द्र मुखियाले जानकारी दिनुभयो ।

जलेश्वर नगरमा हुने संसारीमाईको पूजामा नेपाल तथा भारतका श्रद्धालु एवं दर्शनार्थीहरु सहभागी भएका छन् ।
अहिले बडो धुमधामका साथ प्रत्येक पाँच वर्षमा मनाईने संसारीमाईको पूजा अनादीकालदेखि हुँदै आएको छ ।

सुरु सुरुमा संसारीमाईको पूजा प्रत्येक १२ वर्षमा हुने गरेको थियो । त्यसपछि प्रत्येक सात वर्षमा भयो भने अहिले विगत तीन÷चार पटकदेखि संसारीमाईको पूजा प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएको छ ।

संसारीमाईको पूजा भव्यरुपमा हुने तथा लाखौँको सङ्ख्यामा भक्तजनले पूजा अर्चना र बलि प्रदान गर्ने भएको हुनाले जलेश्वरमा यस पूजाको अवसरमा ठूलो मेलाको समेत आयोजना गरिएको छ । रासस