बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसान वर्षौँदेखि निकुञ्जबाट आएका जङ्गली जनावरबाट पीडित छन् । जङ्गली जनावरले उनीहरुले लगाएको धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान गर्न थालेपछि यहाँका किसान वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् ।

“बाली स्याहार्ने बेला जङ्गली जनावरले खाएर, कुल्चेर नोक्सान गर्दछन् । बेसार खेतीलाई जङ्गली जनावरले क्षति नर्‍याउने भएकाले बेसार खेती गर्न थालेका छौँ”, किसान नर बहादुर सुनारले भन्नुभयो । उहाँले अन्नबालीको उत्पादन लिन नसके पनि बेसार खेतीबाट मनग्ये आम्दानी हुन थालेको बताउनुभयो ।

“किसानलनई आफ्नो समस्या टार्न सहज भएको छ । जङ्गली जनावरले धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान पारिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानले विकल्पका रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्”, सुनारले भन्नुभयो । वर्षभरि गरेको मेहनतको फसल जङ्गली जनावरले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा बेसार खेती थालेको भन्दै उहाँले बेसार खेतीबाट घरपरिवारको समस्या टार्न सहज भएको बताउनुभयो ।

सुनारका अनुसार जङ्गली जनावरबाट आजित भएका यहाँका किसानले तीन वर्षदेखि विकल्पका रुपमा बेसार खेती गरिरहेका छन् । सुरुका वर्ष दलित सेवा सङ्घले किसानलाई निःशुल्क बेसारको बीउ उपलब्ध गराउनुका साथै बेसार खेती सम्बन्धी तालिम उपलब्ध गराएको थियो ।

यस वर्ष प्रतिकिलो रू २५ मा स्थानीय बीउ किनेर ४० बिघाभन्दा बढी क्षेत्रफलमा बेसार खेती गर्ने योजना रहेको किसान नयाराम सुनारले बताउनुभयो । उहाँका अनुसार उत्पादित बेसार प्रतिकिलो रू दुई सय ५० सम्ममा बिक्री हुन्छ । पछिल्लो समय मधुवन नगरपालिकाले यस क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरी बेसार खेतीलाई प्रोत्साहन गर्ने प्रयास थालेको छ । रासस