बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ ।

“लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, गत वर्ष त रु एक लाख रकम नै उपचारमा सकियो, रु तीन हजार पाँच सय रकम तिरेर रु एक लाखको उपचार पाउँदा निकै राहतको महसुस भयो”, आचार्यले भन्नुभयो, “स्वास्थ्य बिमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बिमा गर्न आवश्यक छ भनेर आफँैले समेत अरुलाई भन्ने गरेको छु ।”

बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जाने व्यक्ति अहिले स्वास्थ्य बिमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बिमाले निकै सजिलो भएको बिमाकर्ता बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन जना स्वास्थ्य बिमा गरेका बीमित सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआइ र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बिमाबाटै अन्यत्र सिफारिस गर्दै आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या क्रमशः बढ्दै आएको छ । स्वास्थ्य बिमाबाट बीमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरुपमा वृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बिमाको पहुँचमा आइसकेको स्वास्थ्य बिमा बोर्ड को जानकारी छ।रासस