म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को बेँशी पन्थोकमा आयोजना निर्माण भएका हुन् ।

नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले रु ९४ लाख नौ हजार आठ सय ०२ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय ५३ घरधुरी लाभान्वित भएका छन् । “घरघरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,” उहाँले भन्नु्भयो “आगामी आर्थिक वर्ष २०८०÷८१ मा धवलागिरि–२ खोरिया र लमसुङमा दुई खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ ।”

रु ५७ लाख ६२ हजार ८०३ को लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन् । छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा एक÷एकवटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

“घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजीवन सहजका भएको छ,” उहाँले भन्नुभयो “यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो ।” यसका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए ।

सोही वडाको भेडिखाल्टामा नेवाको रु दश लाख ५४ हजार आठ सय ७८, धवलागिरि गाउँपालिकाको रु छ लाख ९४ हजार आठ सय ८२ अनुदान र उपभोक्ताको रु चार लाख २३ हजार सात सय ६९ बराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ । सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामासँगै जोडिएका दुई वटा घरले एउटा धारा प्रयोग गर्ने गरी ३४ वटा धारा बनाइएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो ।

यसैगरी धवलागिरि गाउँपालिका–६ मा रु १४ लाख ७३ हजार चार सय ७० को लागतमा निर्माण भएको बँेसी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका दुई सय १२ जनसङ्ख्या लाभान्वित भएका छन् ।

जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लबको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ । नेवाको रु सात लाख ७७ हजार ९२, गाउँपालिकाको रु तीन लाख ९९ हजार चार सय ७५ अनुदान तथा उपभोक्ताको रु ३३ हजार चार सय ५९ नगद र रु दुई लाख चार सय ४४ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताउनुभयो । आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मङ्गला गाउँपालिकामा तीन खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ ।

‘लोगो’ सार्वजनिक
म्याग्दीको बेनी नगरपालिकाले आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभयो । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो । प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो । रासस