व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाएको छ । फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो ।

प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक परिचालन गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन बुढाऐरले बताउनुभयो । उहाँका अनुसार कृषि प्राविधिकअन्तर्गत प्रविणता प्रमाणपत्र तह (आइएस्सी एजी)अध्ययन गरेका सात जना र स्नातक तह (विएस्सी एजी) अध्ययन गरेका तीन जनालाई गणकका रूपमा खटाइएको छ ।

गणकले किसान परिवारको अवस्था, सङख्या, जमिनको अवस्था, प्रकृति, सिँचाइको अवस्था, बाली लगाउने तरिका, तरकारी खेतीको तौरतरिका, खेती गर्ने प्रविधि, कृषि आँैजार उपकरणको अवस्था, सिञ्चित क्षेत्र, असिञ्चत क्षेत्र, व्यावसायिक कृषि फार्म, समूह, सहकारीलगायत तथ्याङक सङ्कलन गर्ने छन् ।

कृषि बजारको अवस्था र चुनौतीका बारेमासमेत जानकारी सङकलन गरिने कृषि शाखाका प्रमुख बुढाऐरले बताउनुभयो । प्रोफाइलमा कृषिसम्बन्धी विस्तृत जानकारी सङ्कलन गरी सोही अनुसार कृषकलाई व्यवसायिक बनाउन पहल गरिने उहाँको भनाइ छ ।

“डिजिटल प्रविधिको प्रयोग गरी प्रोफाइल बनाइने भएकाले प्रोफाइलमा प्रत्येक किसानको व्यक्तिगत विवरण(बायोडाटा) समावेश गरिएको हुन्छ”, प्रमुख बुढाऐरले भन्नुभयो, “गणकले सङ्कलन गरेका तथ्याङक र जानकारीको विश्लेषण गरी प्रोफाइल निर्माण गरिने छ ।रासस