गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी यही जेठ ३२ गतेसम्म सञ्चालन हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहका बीच उद्घाटन गर्नुभएको तस्बिर प्रदर्शनीको आठ दिन समय थप गरिएको छ ।
हरेक दिन बिहान ७ बजे खुला भई साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने प्रदर्शनी आज जेठ २४ गतेसम्म सञ्चालन हुने कार्यक्रम थियो । राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, मन्त्रीगण, राजनीतिक पार्टीका वरिष्ठ नेतागण, सांसद, स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, साहित्यकार, कलाकर्मी, आमसञ्चारकर्मी, विद्यार्थीसहित आमसर्वसाधारणबाट अभिरुचिका साथ तस्बिर प्रदर्शनीको क्रम जारी रहेकाले पुनः समय थप गरी जेठ महिनाभर तस्बिर प्रदर्शनी सञ्चालन गर्न लागेको रासस व्यवस्थापनले स्पष्ट गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन मन्त्रिपरिषद््का अध्यक्ष, खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसअघि नै प्रदर्शनीको अवलोकन गरिसक्नुभएको छ ।
यसैगरी नेपली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री सुरेन्द्रकुमार कार्की, डा मीनेन्द्रप्रसाद रिजाल र दिलेन्द्रप्रसाद बडू, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतका पदाधिकारीले पनि तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभयो ।
त्यस्तै राजनीतिज्ञ, प्राध्यापक, कला–साहित्यपे्रमी, संस्कृतिकर्मी, आमसञ्चारकर्मीलगायत सर्वसाधारणलेसमेत रुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा विशिष्ट पदाधिकारी एवं कलासंस्कृति क्षेत्रका अग्रजले समग्र मुलुकको ऐतिहासिक सम्पदा र संस्कृति झल्काई तिनको संरक्षण, सम्वर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेकामा राससलाई धन्यवाद दिँदै भविष्यमा पनि यस किसिमका रचनात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले यस किसिमको रचनात्मक कामका लागि राससलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राससबाट सम्प्रेषित देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ । रासस