कुवेतको संसदीय निर्वाचनमा यहाँको विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ ।
एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो । संसदमा एक जना मात्र महिला सांसद निर्वाचित हुनुभएको छ ।
निर्वाचनबाट धेरै सुधारहरूको लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका छन् ।
कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणाम लाई रद्द गरेको थियो । उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसदलाई पुनः स्थापित गरेका थिए ।
कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन् । विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गर्नुहुनेभएको छ ।
नयाँ संसद्को संरचना गत वर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो छ, जसका ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन् ।
यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक सङ्कटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पु¥याउन सक्ने चिन्ता उत्पन्न भएको छ ।
लामो समयदेखि सभामुख रहेका मार्जुक अल–घानीम र गत वर्ष उहाँको स्थानमा आएका अहमद अल–सादौन दुवै संसद्मा फर्किएका छन् ।
सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ ।
“हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं,” विपक्षी सांसद अदेल अल–दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भन्नुभयो ।
“निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको सङ्केत गरेको छ ।”
सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद् विघटन भइसकेको छ । रासस