खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन् ।

किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत बालीमा औंसा रोग लाग्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । मकैमा फैजी कीरो र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएको कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

“प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औंसा कीरोको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्”, उहाँले भन्नुभयो । कार्कीका अनुसार किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औंसा कीरोको व्यापक सङ्क्रमण भेटिएको छ । उहाँले मकैबालीमा अमेरिकन फौजी कीरो र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको बताउनुभयो ।

कीरो र रोगको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेत गराइएको कृषि प्राविधिकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोही अनुसारको उपचार विधि र विषादी उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ ।

गोलभेँडामा लागेको ढुसी र डढुवाका कारण व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताउनुभयो । “जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीरोले क्षति पुर्‍याएको छ”, उहाँले भन्नुभयो । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीरोको प्रकोप बढेको हो ।रासस