प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसद्मा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो सांस्कृतिक नक्सा हो, राजनीतिक नक्सा होइन’ भन्नुभएको छ । यसबारेमा थप अध्ययन गर्नुपर्छ ।”

भ्रमणका क्रममा सीमा क्षेत्रमा हुने डुबानका बारेमा आवश्यक छलफल र सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको जानकारी दिँदै उहाँले आगामी वर्षामा नै समस्या नआउने गरी काम गर्न निर्देश भएको बताउनुभयो ।

भ्रमणका क्रममा हवाई मार्गका बारेमा प्रस्ट शब्दमा अन्तर्राष्ट्रिय हवाई मार्गका रुपमा नेपालगञ्ज, महेन्द्रनगर, विराटनगरलगायत क्षेत्रमा प्रयोग गर्न पाउने गरी वातावरण बनाइदिन आग्रह गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

“राम्रो भएकालाई राम्रो भन्ने हो, नभएकालाई नभएको र नराम्रो भन्ने हो । लो अल्टिच्युडको जहाज चल्ने वातावरण बनेको छ । केही भएको छैन भनेर नकारात्मक कुरा गर्नु आवश्यक छैन”, उहाँले भन्नुभयो ।

कालापानी, लिपुलेकलगायत सीमा समस्या समाधानका लागि भ्रमणका क्रममा स्पष्ट शब्दमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीले नै नेपाल भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा आफैँले संयुक्त पत्रकार सम्मेलनमा प्रस्ट प्रतिबद्धता आएको छ । उहाँले दुई देशबीचको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ ।”

आफूले औपचारिकरुपमा कुनै पनि बैठकमा जमिन सट्टापट्टाका बारेमा कुराकानी नगरेको जानकारी दिँदै उहाँले यस विषयमा विभिन्न खालका मोडलहरु पनि छन् भनेर बुद्धिजीवीहरुले भन्दै आएको मात्रै भनेको बताउनुभयो ।रासस