जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो ।

सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा निर्माण कम्पनी रमण आइएसएनवी जेभी कन्स्ट्रक्सन प्राली जनकपुरसँग सम्झौता भई निर्माण सुरु गरिएको भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनियर सचिन्द्र देवले जानकारी दिनुभयो ।

भ्याट करबाहेक रू १२ करोड ४९ लाखमा उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको चार वर्ष हुन लाग्दा अहिलेसम्म भवन निर्माण अलपत्र रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार विसं २०७८ पुसमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । विसं २०७८ पुसमा निर्माण सम्पन्न नभएपछि दुई पटकमा छ÷छ महिना म्याद थप गर्दा पनि निर्माण कम्पनीको लापरवाहीका कारण काम रोकिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

ठेकेदारको गैरजिम्मेवारपूर्ण कार्यले निर्माण अलपत्र भएको भन्दै ठेक्का खोसेर कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको भवन आयोजनाका प्रमुख इञ्जिनियर देवले बताउनुभयो । उहाँले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अन्त्य गरी नयाँ प्रक्रियाबाट काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार चार वर्षसम्म ३४ प्रतिशत मात्र भवन निर्माण सम्पन्न भएको छ ।रासस