गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मङ्गलबारदेखि सुरु भएको छलफलमा आज पनि प्रदेशसभा सदस्यले आफ्नो धारणा राख्नुभयो ।

आजको प्रदेशसभा बैठकमा बोल्ने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको औँल्याउनुभयो भने विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनको खाका तयार गरेको बताउनुभयो । उहाँले प्रदेशप्रतिको जिम्मेवारी र दायित्वबोध गर्दै सरकारले नागरिकमैत्री कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)का भीमबहादुर कार्कीले तथ्याङ्कमा आधारित वस्तुनिष्ठ कार्यक्रम आउन नसकेको बताउनुभयो । उहाँले छरिएर आएको नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउन नसकेको धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले प्रदेशका सबैखाले आवश्यकतालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले प्रेदश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका बेला जनआकाङ्क्षा पूरा गर्ने खालको बजेट र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

वैज्ञानिक अध्ययन गरेर मात्र नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले नागरिकले महसुस गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । नागरिकलाई दुःखसुखको साथी प्रदेश सरकार हो भन्ने अनुभूति दिलाउनुपर्ने उहाँले बताउनुभयो । रासस