जिल्लामा अहिले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा यस दुर्लभ वन्यजन्तुबारे अध्ययन तथा अनुसन्धानका लागि जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले उक्त केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र स्थापनाका लागि रू एक करोड ५७ लाख खर्च भएको छ ।

संरचना निर्माणका लागि वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग गरिएको छ । गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रा मुछेर भवन निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । उक्त केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो ।

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवा प्रवर्द्धन, सदुपयोगसहित पर्यटन प्रवर्द्धन गरी उपभोक्ता समूहको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उहाँको भनाइ थियो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । रासस