राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित साना स्तनधारी जनावरमा सूचीकृत छ सालक । सालक मात्र एउटा यस्तो जनावर हो, बागमती प्रदेशका १३ जिल्लामै पाइन्छ । हिमाली भेगको रसुवादेखि भित्री मधेसको मकवानपुरसम्म र दोलखादेखि धादिङसम्म सालक पाइन्छ । सालकलाई बागमतीको ‘गौरव जनावर’ घोषणाको अभियान चलाउन सके सङ्कटमा रहेको सालक संरक्षण हुन सक्ने र वातावरण संरक्षणसँगै किसानलाई अरू लाभ पुग्ने वन संरक्षणकर्मीहरुको भनाइ छ ।

गैँडा, बाघ चितवनमा मात्र पाइन्छ । दुर्लभ ‘रेड पान्डा’ रसुवा र केही हिमाली जिल्लाका भेगमा मात्र पाइन्छ तर सालक बागमतीका सबै जिल्लामा पाइन्छ । सालक एक प्रकृतिप्रेमी प्राणी पनि हो । सालक वातावरणमैत्री जनावर हुनाका नाताले किसानको साथी त हुँदै हो, मानव समुदाय, अन्नबाली, अन्य घरपालुवा जनावर कसैलाई हानि नगर्ने र धमिरा तथा कमिला मात्र आहारा बनाउने सालक संरक्षण अभियान चलाउन जरुरी छ ।

बागमती प्रदेशको वन मन्त्रालयले प्रदेशका सबै जिल्लामा सालक संरक्षणलाई केही रकम विनियोजन गर्न थालेको छ र सालक संरक्षण अभियान पनि सुरु हुँदैछ । सालक संरक्षण अभियान चलाउने समय भइसकेकामा वनकर्मी, संरक्षणकर्मीहरु पनि सहमत देखिएका छन् । यसलाई अति लजालु, संवेदनशील एवम् शान्त वातावरणमा बस्न रुचाउने, मानवलाई हानि नगर्ने र इकोसिस्टमलाई चुस्त बनाउने जीव मानिन्छ । प्रदेश सरकारले ‘गौरवको जनावर’ घोषणा गर्न सके कम्तीमा एउटा संरक्षित जनावर प्रदेश सरकारले अपनत्व लिइदिँदा देशभर संरक्षण क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने र सालक संरक्षण अभियानले गति लिन सक्ने देखिन्छ । रासस