राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ । सडक विस्तारका क्रममा काटिएका ३६ हजार रुखको सट्टामा एक रुख बराबर २५ बिरुवाको दरमा प्रतिपूरक वृक्षरोपण गर्नुपर्ने भएकाले ठाउँको खोजी भइरहेको हो ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनीयरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राकेश झाले वृक्षरोपणका लागि जग्गा खोजीभइरहेको बताउनुभयो । “सम्झौताअनुसार ठूलो सङ्ख्यामा वृक्षरोपण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “जिल्लाको दक्षिणी भागसहित पहाडी भागमासमेत जग्गा खोजी भइरहेको छ, तर अहिलेसम्म कहीँ पनि प्राप्त हुनसकेको छैन ।”

प्रतिपूरक वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले जग्गा खोजी गरिदिनुपर्ने भए पनि अहिलेसम्म जग्गा नभेटिएका कारण वृक्षरोपणको काम सुरु हुननसेको झाले बताउनुभयो । उहाँका अनुसार सडक विस्तारका क्रममा गैँडाकोटबाट दाउन्नेसम्म ६५ किलोमिटर क्षेत्रफलमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् । काटिएका रुखमध्ये सडकको उत्तरतर्फ डिभिजन वन र दक्षिखणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका रुख रहेका छन् ।

सुरुआतमा छ हजार ुई सय ९७ रुख कटान गर्नुपर्ने भनिए पनि पछि बढेर ३६ हजार रुख काट्नुपर्ने देखिएको झाले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनीयर धीरज ढकालले प्रतिपूरक वृक्षरोपका लागि बिरुवाको प्रजाति मिलाएर रोप्नुपर्ने बताउनुभयो । सडक छेउछाउको वन क्षेत्र तथा पहाडी भेगको पाखा जग्गामा वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको भए पनि आवश्यकताअनुसार जग्गा भेटाउन नसकिएको उहाँले बताउनुभयो ।रासस