डढेलोका कारण वनका उपभोक्ताले सास्ती खेप्नु परेको छ । वन पैदावार जलेर नष्ट हँुदा घाँसदाउरा गर्न समस्या भएको छ । खडेरीयाम रहेकाले वनमा सल्केको आगोले स्थानीयलाई त्रसित समेत बनाइरहेको छ ।

यस वर्ष मात्रै पाल्पा जिल्लाका एक हजार ६ सय ८५ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको छ । सामुदायिक वन ८३, निजी वन तीन र एक धार्मिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालय पाल्पाका डढेलो फोकल पर्सन उपेन्द्र अर्यालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार रामपुर नगरपालिकामा ३७, तानसेन नगरपालिकामा १५ पटक डढेलो लागेको छ भने गाउँपालिकातर्फ रिब्दिकोट ५८, रैनादेवीछहरा ७५, रम्भा आठ, पूर्वखोला ७६, तिनाउँ एक सय एक, निस्दी ५३, बगनासकाली तीन, माथागढीमा ९३ पटक डढेलो लागेको छ ।

रामपुर नगरपालिकाभित्रका ६० प्रतिशत बढी सामुदायिक वनमा डढेलो लागेको छ । गत चैत १५ देखि हालसम्म लागेको वन डढेलोले नगरभित्रका ३८ वटा वन क्षेत्र प्रभावित बनाएको छ । नगरमा रहेका सबैजसो वन डढेलोको जोखिममा रहेको रामपुर सबडिभिजन वन कार्यालयका प्रमुख सुजनराज भण्डारीले जानकारी दिनुभयो ।

“विगतका वर्षमा भन्दा यसवर्ष धेरै ठाउँमा डढेलो लागेको छ, यो वर्षको तुलनामा गत वर्ष १० प्रतिशतमा मात्रै डढेलो लागेको थियो । अहिले धेरै स्थानको आगो नियन्त्रणमा आए पनि दक्षिणतर्फका वनहरु डढेलोको जोखिममै छन्”, उहाँले भन्नुभयो ।
रासस