कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बन्नुभएको छ । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिनुभएका उहाँ युवाको उत्प्रेरणाको स्रोत बन्नुभएको छ ।

करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लाग्नुभएका उहाँ यही पेसामा रमाउनुभएको छ । हालसम्म व्यावसायिक गाईपालनका लागि रु १५ लाख बढी लगानी गरिसकेको उहाँको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उहाँले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । दाँवाली कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषिमा लाग्नुभएका उहाँ समाजको एक उदाहरणीय पात्रसमेत हुनुहुन्छ । विगतमा आफ्नो फार्ममा उत्पादन भएको दूध बजारका दुग्ध उद्योगमा बेच्दै आउनु उहाँले अहिले आफँै उद्योग सञ्चालन गरेर स्वरोजगारसमेत बन्नुभएको छ । विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने कृषक विष्टको भनाइ छ ।

“सानैबाट कहिले पनि विदेशप्रतिको मोह आएन”, उहाँले भन्नुभयो, “आफैँ उद्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत पाँच वर्षबाट कृषिमा लागेको हुँ । सुरुआती चरणमा धेरै दुःख पाएँ । उत्पादन भएको दूधले उचित मूल्य नपाउँदा धेरै समस्या थियो । तर अहिले आफैँले दुग्ध डेरी सञ्चालन गरेको छु । यहीँ मेहनत गरे आम्दानी गर्न सकिन्छ ।

उहाँ उठेदेखि साँझसम्मको समय कृषिमा लगाउनुहुन्छ । गाउँघरका किसानलाईसमेत पशुपालनमा लाग्नका लागि प्रोत्साहन थप्दै आउनुभएको छ । कृषक विष्टले घरसम्म पुगेर दूध खरिद गर्न थालेपछि पशुपालनमा लाग्न हौसला मिलेको स्थानीय पशुपालक किसानले बताउने गरेका छन् । सानै उमेरमा व्यवसायमा लाग्नुभएका विष्ट बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्नुहुन्छ । हिउँदको समयमा दूध सङ्कलनमा सहज रहे पनि वर्षात्मा कच्ची बाटो हिलाम्य बन्दा समस्या हुने गरेको उहाँको भनाइ छ ।

कृषक विष्टले आफ्नो फार्मबाट उत्पादन भएको दूधसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर किसानको घरबाट सङ्कलन गरेर दूध ल्याउने गर्नुभएको छ । उहाँले अहिले भोजपुर बजारमा दुर्गा दुग्ध डेरी उद्योग सञ्चालन गरेर बजारको दूधको मागलाई धान्दै आउनुभएको छ ।

“व्यवसाय सञ्चालनका क्रममा धेरै समस्या झेलँे”, कृषक विष्टले भन्नुभयो, “जो मानिस समस्याको सामना गर्नसक्छ त्यो सफल बन्ने रहेछ । मैले धेरै सङ्घर्ष गरेको छु । आफ्नो फार्ममा उत्पादन भएको दूधले बजारको माग पूरा गर्न कठिन भएपछि किसानको घरमा पुगेर दूध सङ्कलन गर्छु । ती किसानलाई पनि केही राहत पुगेको छ । मेहनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या छैन ।”

सिजनमा आफ्नो फार्मबाट दैनिक ६० देखि ८० लिटर र अन्य किसानबाट सङ्कलन भएको गरी दैनिक एक सय ८० देखि दुई सय लिटरसम्म दूध बिक्री गरिरहेको उहाँको भनाइ छ । दुग्धजन्य परिकार बनाउने उपकरण नहँुदा समस्या रहेको किसान विष्टले बताउनुभयो । दूधलाई चिस्याउनका लागि आवश्यकपर्ने उपकरण नहुँदा गर्मीको समयमा बढीमात्रामा दूध फाट्ने सम्भावना हुने उहाँको भनाइ छ ।

राज्यकोतर्फबाट दुग्धजन्य परिकार बनाउने उपकरणमा सहयोग पाए सहज हुने उहाँले बताउनुभो । “बढीमात्रामा दूध सङ्कलन गरेर भण्डारण गर्न समस्या छ”, उहाँले भन्नुभयो, “त्यस्ता खालका उपकरण खरिदमा निकै ठूलो लगानी लाग्ने रहेछ । यस्ता कुरामा राज्यले सहयोग गरे धेरै किसानलाई सहज हुने थियो ।

व्यवसायी विष्टले दाँवा, तल्लो बोखिम, माथिल्लो बोखिम, टक्सार, धापखर्क, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारीभञ्ज्याङलगायत ठाउँका एक सय ५० बढी कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । विगतमा घरयासी प्रयोजनमा मात्र खपत गर्दै आएको दूध बिक्री गर्न पाउँदा खुसी लागेको माथिल्लो बोखिमका कृषक भोजराज घिमिरेले बताउनुभयो । आफ्नै ठाउँमा दूध बिक्री भएपछि सहज भएको उहाँको भनाइ छ ।

“हामीलाई दूधको बजारीकरणमा सहजता थपिएको छ”, कृषक घिमिरेले भन्नुभयो, “बजार टाढा भएकाले विगतमा धेरै किसानले दूध बिक्री गर्दैन थिए । उनीहरुले घरयासी प्रयोग मात्र गर्दै आएका थिए । गाउँमा नै दूध सङ्कलन केन्द्र हुँदा सहज छ । अहिले दूध बिक्रीबाट आएको पैसाले घर खर्च टार्न सकेका छौँ ।”

कृषक विष्टले आंशिकरुपमा अन्य मानिसलाई रोजगारीसमेत दिनुभएको छ । दुग्ध व्यवसायसँगै उहाँले नौ वटा टनेलमा व्यावसायिकरुपमा तरकारी खेतीसमेत गर्दै आउनुभएको छ भने व्यावसायिकरुपमा १५ रोपनी बढी क्षेत्रमा सुन्तलाखेती पनि गर्नुभएको छ । कृषि व्यवसायबाट भविष्यमा वार्षिकरुपमा रु १५ देखि २० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको किसान विष्टको भनाइ छ । आफूले आर्गानिक तरकारी उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो ।

“कृषि व्यवसाय गरेर सफल बन्दैन भन्ने धेरै थिए”, उहाँले भन्नुभयो, “इलामबाट गाई किनेर ल्याएर व्यवसाय थाल्दा यो डुब्यो भन्ने पनि थिए । अहिले मैले यहाँ उत्पादन भएको मलको सदुपयोग गर्दै आर्गानिक तरकारी खेतीमा जोड दिएको छु । यस वर्ष मात्र नौ वटा टनेल विस्तार गरेको छु । त्योसँगै १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छु ।

कृषिमा योजनाबद्धरुपमा लागेको देखेर राज्यले तरकारी खेतीका लागि केही सहयोग गरेको कृषक विष्टको भनाइ छ । राज्यको सहयोगले व्यवसायमा लाग्न हौसला मिलेको उहाँले बताउनुभयो । “सुरुमा राज्यकोतर्फबाट खास सहयोग भएन”, उहाँले भन्नुभयो, “आफैँले ऋणपान गरेर आवश्यकता पूरा गर्दै गएँ । अहिले तरकारी खेतीका लागि केही सहयोग पाएको छु । कृषि ज्ञान केन्द्रको सहयोगमा टनेल विस्तार गरेको छु ।”

आफ्नै ठाउँमा मेहनत गर्नसके विदेशमा हुने कमाइ यही गर्न सकिने उहाँको भनाइ छ । आफूले कृषि क्षेत्रमा पाएको सफलता देखेर धेरै युवाले यसप्रति रुचि देखाएको उहाँको भनाइ छ । उनीहरुलाई आफूले सिकेको सीप सिकाउँदै कृिष पेसामा लाग्न प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।

“स्वदेशमा कृषिमा सम्भावना देखेर कृषिमा लागेको हुँ”, उहाँले भन्नुभयो, “पशुपालनबाट निस्किएको मलको प्रयोग गरेर बेमौसमी तयार खेतीको अवधारणाअनुसार काम गरिरहेको छु । मैले आर्गानिक कृषि उत्पादनमा जोड दिएको छु । यो लाग्न रुचि देखाउने युवा साथीलाई आवश्यक सहयोग गर्दै आएको छु ।रासस