यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गर्नुभयो । उक्त सफाइ टोलीमा संलग्न पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

प्रधानसेनापति शर्माले सो अवसरमा उहाँहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गर्नुभयो । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गर्नुभयो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर सङ्कलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ ।रासस