लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गर्नुभएको छ ।

उहाँलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफुलाई कुनै मुद्दामाथि सुनुवाई नगरिएको भन्दै उहाँले आमरण अनशन सुरु गरेको उहाँका वकिलले बताउनुभयो ।

सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा रहनुभएको छ । करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक शिया धर्मगुरुको भविष्यबारे जानकारी माग्दै लेबनानी लडाकूले उहाँलाई अपहरण गरेका थिए ।

गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ बेरुत जेलमा राखिएको थियो ।

अधिवक्ता पल रोमानोसले बताएअनुसार उहाँका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गर्नुभएको हो । उहाँले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताउनुभएको रोमानोसले बताउनुभयो ।

अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताउनुभयो ।
यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गर्नुभएको छ ।

लेबनानी महिलासँग विवाह गरेका गद्दाफीको विज्ञप्तिमा भनिएको छ, “यतिका वर्षसम्म निष्पक्ष सुनुवाइ बिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ?

लिबियाली नागरिक रहेका गद्दाफिले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताउनुभएको छ । उहाँले ‘बर्तमान् (शासक) राजनीतिज्ञहरूको हातबाट कानूनलाई मुक्त गर्ने समय आएको’ बताउनुभयो ।

रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौंसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ ।

सन् १९७८ मा लेबनानका प्रमुख शिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ । धर्मगुरुको परिवारले उहाँ अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुनसक्ने विश्वास गरेका छन्, यद्यपि अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन् । उहाँ जीवितै रहेमा उहाँ अहिले ९४ वर्ष पुग्नुभएको छ ।

अल–सदर एक शिया राजनीतिक र सैन्य समूहका संस्थापक हुनुहुन्थ्यो र उहाँले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिनुभएको थियो ।

इरानको पवित्र शहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह शहर टायरमा शियाहरूको अधिकारका लागि काम गर्न आउनुभएको थियो ।सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि अल–सदरले ‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना गर्नुभयोे, जसले हजारौं अनुयायीहरूलाई आकर्षित ग¥यो ।

मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना भएको अर्को वर्ष उहाँले अमाल नामक सैन्य एकाईको स्थापना गर्नुभएको थियो । अमालको अर्थ अरबी भाषामा ‘आशा’ हो र यही नामको लडाकू समूहको नाममा उहाँको समूह लेबनानको गृहयुद्धमा लडेको थियो । यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसदका सभामुख नाबिह बेरीले गरिरहनुभएको छ ।रासस