राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा आचार्यलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।रासस