२२ जेठ, काठमाडाैं ।

बुद्धवचन अनुवाद समितिले २५ हजार श्लोकको एक बौद्ध साहित्य नेपाली भाषामा अनुवाद गरेको छ । हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको ‘पञ्चविशतिसाहस्रिका’ कृतिलाई सामान्य धर्मावलम्बीलाई समेत बुझाउन सरल नेपाली भाषामा अनुवाद गरिएको हो ।

बौद्ध साहित्यमा महत्वपूर्ण मानिने शून्यता दर्शनमा आधारित ज्ञानलाई लिपिबद्ध गरिएको यस कृतिमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको, वस्तु तथा पदार्थ सहअस्तित्वमा आधारित हुने, सत्ता तथा शक्ति परिवर्तनशील हुनेजस्ता सन्देश दिइएको छ ।

समाजमा मानिस लोभ, मोह, रिस र रागबाटमुक्त भएपछि प्राप्त हुने मानवीयताले एकापसमा सद्भाव, भाइचारा, सामाजिक न्याय, समानता कायम भई मानव कल्याण तथा विश्व शान्ति र समृद्धिको चाहना पूरा हुने उपाय उक्त कृतिमा उल्लेख गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा बौद्ध गुरु खेन्पो सम्डुबले उक्त कृति विमोचन गर्दै आध्यात्मिक शिक्षाको कमी तथा अज्ञानताका कारण संसारमा युद्ध, हिंसा भइरहेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न बौद्ध दर्शन र साहित्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले विश्व शान्ति र मानव कल्याणका लागि बौद्ध शिक्षा उपयोगी रहेको विचार व्यक्त गर्नुभयो ।
बुद्धवचन अनुवाद समितिका अध्यक्ष एवं बौद्ध विद्धान् टीका शेर्पाले यसअघि आठ हजार श्लोकको कृति अनुवाद भइसकेको जानकारी दिँदै बौद्ध साहित्यका महत्वपूर्ण कृतिलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिनुभयो । स्राेत रासस