२१ जेठ, सर्लाही ।

सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल)मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ । उक्त तालमा मधेश प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ताल किनारमा निर्माण भएको ‘स्काई साइक्लिङ’को परीक्षण सम्पन्न गरेर सञ्चालनका लागि तयारी गरिएको छ । तारको लठ्ठामा झुन्डिएको साइकल चलाएर मनोरञ्जन लिने यो खेल पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएकाले तालमा पनि निर्माण गरिएको बागमती इन्टरनेश्नल प्रालिका अध्यक्ष गौतम खड्काले जानकारी दिनुभयो ।
‘स्काइ साइक्लिङ’ले तालमा थप पर्यटक आकर्षित हुुने अपेक्षा गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो । उहाँका अनुसार जमिनको सतहदेखि ३७ फिट उचाइमा रहेको यो ‘स्काइ साइक्लिङ’ दुई सय १३ फिट लामोे छ ।

भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको र पर्यटकलाई थप आकर्षित गर्न ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिका– १२ का वडा अध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

तालमा पर्यटकको मनोरञ्जनका लागि तीन दर्जन मोटरबोट र एउटा मिनिक्रुज बोट सञ्चालन भइरहेको छ । यसैगरी ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । रु ८५ लाखको लागतमा निर्माण भएको ‘स्काइ साइक्लिङ’मा दुईवटा रोपलाइन विस्तार गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार ‘स्काइ साइक्लिङ’मा एकपटकमा तीन जनासम्मले साइकल चलाउन सक्ने छन् । नगरको गौरबको आयोजनाको रुपमा निर्माण सुरु गरिएको भरत ताल निर्माणकै चरणमा पनि आन्तरिक आयस्रोतको आधारस्तम्भ बनेको नगरपालिकाले जनाएको छ । स्राेत रासस