कास्कीको लेखनाथस्थित बेगनास ताल पारी रहेको प्राचीन बराह क्षेत्रमा गण्डकी प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन तथा उद्योग कार्यालयले बेगनासताल बराह क्षेत्र पर्यटकीय पूर्वाधार निर्माण योजनाअन्तर्गत बेगनासताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण सुरु गरिएको हो ।

योजनाका लागि रू ५५ लाख ७६ हजार नौ सय १७ लागत लाग्ने प्रदेशअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । मन्दिर निर्माणका लागि प्रदेश सरकारले रू ५० लाख विनियोजन गरेको छ भने बाँकी रकम जनश्रमदानबाट जुटाइने पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेगनासताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको हो । “बराह क्षेत्रमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेकाले यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व छ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकले यस क्षेत्रको सम्भाव्यतासम्बन्धी अध्ययन गर्नुभएको थियो । बेगनासतालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रसम्म पुर्‍याउने लक्ष्यका साथ मन्दिरलगायत संरचना निर्माण गर्न लागिएको उहाँको भनाइ थियो ।

प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिँदै आएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका दिन पारेर ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीय सबैलाई राम्रो होस् भन्ने कामनासहित पूजाआजा गर्दै आएका छन् ।रासस