म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ ।

सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो ।

म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट दैनिकजसो भक्तजन र पर्यटक आउन थालेका स्थानीयवासी लेकबहादुर पुनले बताउनुभयो । “ऐतिहासिक, धार्मिक महत्व तथा विशेषताको प्रचारप्रसारका साथै पूर्वाधार निर्माण भएसँगै केही वर्षअघिसम्म सुनशान ताकमकोतमा अहिले चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “भक्तजन र पर्यटक नआएको दिन हँुदैन । बिदाको समयमा अझ बढी आउँछन् ।”

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि रु असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । रु १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ ।

ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हालै हनुमानको मूर्ति स्थापना र राम सीताको मन्दिर निर्माणलाई पूर्णता दिइएको छ । कोतघर परिसरमा टाढाबाट देखिने गरी हिमाल र पहाडलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न मिल्ने गरी १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ ।

धौलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले ठेकेदारले अलपत्र छाडेको राममन्दिर निर्माणलाई पूर्णता दिनुका साथै नजिकै हनुमानको मूर्ति स्थापना गरिएको जानकारी दिनुभयो । विभागले रु ४२ लाखमा ठेक्कामार्फत निर्माण सुरु गरेको राम मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो ।रासस