कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध हुनुहुन्छ । कृषिबाटै जनजीविका चलाउँदै आएका उहाँको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ ।

गाउँको भलमन्सा समेत रहनुभएका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो । सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उहाँ खेती गर्न छोड्ने मनस्थितिमा पुग्नुभएको थियो । रामकुमार नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ ।

“केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो । यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उहाँ भन्नुहुन्छ, “अरु काम कस्ता भए त्यो थाहा छैन । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनमा देखाएको सक्रियताले सयौँ किसानलाई राहत भएको छ ।” आउँदो आर्थिक वर्षमा पनि सामुदायिक चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नुभयो ।

भलमन्सा तथा कृषक देशराम चौधरीले पनि नगरपालिकाको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले चौपाया व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुँदा वर्षौंपछि किसानले पूरा बाली भित्र्याउन पाएको बताउनुभयो । “सडक आसपासका क्षेत्रमा लगाएको अन्न बाली भित्र्याउने आशा निकै कम हुन्थ्यो । चौपायाले आधाभन्दा बढी बाली नष्ट गरिसकेको हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले त्यो भएन । सडक तथा खेतमा देखिने चौपाया देखिन छाडेका छन् । रातदिन खेतमै बस्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ ।”

भजनी नगरपालिका–६ का सुखराम डङ्गौराले चार बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । चौपायाका डरले आधा खेतमा मात्रै गहुँ लगाएका उहाँलाई यतिबेला निकै पछुतो भएको छ । उहाँले चौपायाको डरले सबै खेतमा खेती गर्न सक्नुभएन । “हिउँदे खेती चौपायाका डरले लगाउन सकिएन । अहिले चैते धान राम्रो भएको छ । चौपाया व्यवस्थापन हुँदा आनन्द भएको छ”, उहाँले भन्नुभयो, “चौपाया व्यवस्थापनमा नगरपालिकालाई धन्यवाद दिनै पर्छ । यसभन्दा पहिलेको सरकारले नसकेको काम अहिलेको सरकारले गर्न सक्यो ।” उहाँले गाउँघरमा सामुदायिक चौपाया देखिन छोडेको बताउनुभएको छ ।रासस