मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।

बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ । बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् । केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

विद्यार्थी र मजदुर बढीजसो चर्को घामको मारमा परेका छन् । गर्मीका कारण पठनपाठन प्रभावित बनेको छ । केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विराटनगर–२ स्थित जनता नमूना माविकी आस्मिन खातुन घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताउनुहुन्छ । “कक्षा कोठामा बसेर पढ्ना असिनपसिन भइन्छ”, उहाँले भन्नुभयो–“गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छन् ।”

विराटनगर–५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन् । कतिपप विद्यार्थीको नाथ्री फुटेर नाकबाट रगत बग्दा घरबाट अभिभावकलाई बोलाउनु परेको छ ।” रासस