सहकारी पीडित नागरिकहरुले आफ्नो बचत रकम फिर्ताको माग राखेर आज माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिको आह्वानमा पीडितहरुले आफ्नो बचत फिर्ताको माग राख्दै उक्त प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफ्नो रकम फिर्ताका लागि सरकारले पहल गर्न या सरकारले नै फिर्ता दिनुपर्ने व्यवस्था गर्न माग गरेका हुन् । यसैका दबाबस्वरुप प्रदर्शनमा उत्रिन बाध्य भएको उनीहरुको भनाइ थियो ।

पीडितहरुले आज मध्याह्न माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत आफूहरुले गरेको बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शन गरेको सङ्घर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धायौँ तर कतै पनि सुनुवाइ नहुँदा पीडितहरु सडक आन्दोलनमा आउन बाध्य भए ।” सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने पीडितहरुको माग रहेको छ । काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको पीडतहरुको गुनासो रहेको छ ।

नेपालमा पछिल्लो समय सहकारीबाट ठगिने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार एक सयभन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एकै ठाउँमा रहेर यो सङ्घर्ष समिति बनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।रासस