प्रचण्ड गर्मी छल्न अहिले जनकपुरधामका युवा नजिकैको गङ्गासागरमा नुहाउन जान्छन् । यसै क्रममा आज नुहाउन गएका तीन युवा पौडी खेल्न नजानेर पानीमा डुब्छन् ।
यो खबर पाएलगत्तै जिल्ला आपत्तकालीन कार्य सञ्चालन केन्द्र धनुषाले खटाएका तीनवटै सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्मीले सुरक्षित रुपमा उद्धार गर्छन् । सोही गङ्गासागरमा रबरबोटमा केही युवा आउँछन् । त्यो रमाइलो पललाई टिकटकमा कैद गर्न व्यस्त युवाले सावधानी नअपनाउँदा डङ्गा सन्तुलन गुमाएर बीच भागमा पल्टिन्छ । डुब्दै गरेका युवा जीवन रक्षाको याचना गर्छन् । यो खबर एकैछिनमा सबैतिर फैलिन्छ र मोटरसहितको डुङ्गा लिएर सुरक्षाकर्मी घटनास्थलमा पुग्छन् ।
त्यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जल्लाद खोलामा अचानक बाढी आउँदा केही व्यक्ति डुबिरहेको खबर आउँछ । सुरक्षाकर्मीले तत्कालै उद्धार त गर्छन् तर फर्किने क्रममा आफैँ दुर्घटनामा पर्छन् । त्यस्तो विषम परिस्थितिमा पनि उद्धार टोलीले रबरबोटमा रहेको ‘रिलिफ लाइन’ को प्रयोगगरी सामान्य अवस्थामा ल्याउँछन् र पीडितलाई सुरक्षित स्थानतर्फ लिन्छन् । डुबानका घटना सेलाउन नपाउँदै अविरल वर्षाका कारण जिल्लाको मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित मुसहर्निया टोलमा जमुनी खोलाको बाँध फुटेर एक्कासि आएको बाढीले घरैसहित केही मानिसलाई बगाउँछ ।
केही समयपछि तालिम प्राप्त उद्धारकर्मी घटनास्थलमा पुगी नागरिकको उद्धार गर्छन् । जनकपुरधामस्थित गङ्गासागरमा आज यस्तै कृत्रिम अभ्यास गरियो । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप विपद्बाट जोगिन ‘विपद् पूर्वतयारी तथा राहत वितरणसम्बन्धी अभ्यास’का क्रममा यस्ता घटना देखाइएका थिए । घटना कृत्रिम भए पनि तराई–मधेशका अधिकांश जिल्लामा हरेक वर्षायाममा यस्तै दुखद खबर सुनिन्छन् ।रासस