भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो ।
नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने कुरा बताएपछि यहाँका नागरिक खुसी भएका छन् ।
वर्षौँ पुरानो जीर्ण बनेको झोलुङ्गे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बनाउने कुरामा भारतीय प्रधानमन्त्री मोदीले गरेपछि खुसियाली छाएको छ । यहाँ मोटरेबल पुल बनेपछि दुवै देशको आर्थिक गतिविधिमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने आशा पलाएको छ । यो निकै खुसीको कुरा पनि हो । मोटरेबल पुल निर्माण भएमा दुवै देशमा आर्थिक गतिविधिमा वृद्धि पनि हुन्छ ।”
मोटरेबल पुल निर्माणपछि आर्थिक वृद्धिका साथसाथै धार्मिक पर्यटन भित्र्याउन पनि सहज हुने सङ्घका उपाध्यक्ष भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “यसअघि सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा पर्यटक भित्र्याउन असहज हुने गरेकामा पुल निर्माण भएमा भारतीय दर्शनार्थीलाई नेपालका धामको दर्शन गर्न सहज हुनेछ ।रासस