गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक रू ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् ।
स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार गरे भने केहीले अस्थायी संरचना बनाएर कार्यसम्पादन सुरु गरेका छन् । जिल्लाका इस्मा, मुसिकोट, कालिगण्डकी, चन्द्रकोट र गुल्मीदरबार पालिकाले वार्षिक रू ३९ लाख चार हजार घरभाडामा खर्च हुने गरेको जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकाको कार्यालय स्थापना भएदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । अहिले कालीगण्डकीले घरभाडाबापत मासिक रू ६० हजारका दरले वार्षिक रू सात लाख २० हजार खर्चंदै आएको कार्यालयले जनाएको छ । गुल्मीदरबार गाउँपालिकाको कार्यालय पनि भाडाकै घरबाट सञ्चालन भइरहेको छ । गुल्मीदरबारले पनि मासिक रू ६० हजारका दरले वार्षिक रू सात लाख २० हजार घरभाडामा खर्चने गरेको पालिकाका सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो ।
मुसिकोटले मासिक रू ६६ हजार चार सयका दरले वार्षिक रू सात लाख ९६ हजार आठ सय घरभाडामै खर्च हुने सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । इस्मा गाउँपालिकामा स्थानीय सरकारको पहिलो कार्यकालको अन्तिममा पालिकाको केन्द्र वडा नं ५ रजस्थलको रातापोखरा हुने गरी टुङ्गो लागेर कार्यालय बने पनि सञ्चालन हुन सकेन । हाल रजस्थल दोबाटमा घर भाडामा लिएर मासिक रू ३३ हजार भाडा तिर्ने गरेको पालिका कार्यालयले जनाएको छ ।रासस
