चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ ।

वीरगञ्जबाट आउनुभएकी शिला महतोे झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक आएकी हुँ, यहाँको झरना देखेर मन लोभिएको छ”, सामाजिक सञ्जालमार्फत झरना बारेमा थाहा पाएर साथीहरुसँग घुम्न आएको उहाँले सुनाउनुभयो ।

विसं २०६९ देखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् ।

गत वर्षहरु भन्दा यस वर्ष पर्यटकको आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताउनुभयो । “यहाँ पौडी खेल्न र नुहाउन आउनेका सङ्ख्या बढ्दो छ, उहाँले भन्नुभयो”, “बिदाको दिन र शनिबार औसतमा पाँच सय र अन्य दिन करिब दुई सय पर्यटक यहाँ आउने गरेका छन् ।रासस