वर्षौंदेखि भग्नावशेषका रुपमा रहेको मण्डनदेउपुर नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक ‘नर्बन्दा पाटी’ पुनःनिर्माण सुरु गरिएको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण सुरु भएको पाटीको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले शिलान्यास गर्नुभयो । नर्बन्दा नाम गरेकी चेलीले सो पाटी निर्माण गरेको किम्वदन्ती छ । पाटी कति वर्ष अघि निर्माण गरिएको भन्ने यथार्थ मिति नभेटिए पनि कम्तीमा दुई सय वर्षभन्दा बढी पुरानो भइसकेको अनुमान छ ।
जीर्ण रहेको अवस्थामा रहेको उक्त संरचना २०७२ सालको भूकम्पका कारण थप जीर्ण बनेको थियो । जसको पुनःनिर्माणका लागि अहिले पुरातत्व विभागले रु १५ लाख ६६ हजार आठ सय ५२ बजेट व्यवस्थापन गरेर काम अगाडि बढेको हो । पाटी चालु आर्थिक वर्षमा एक तला निर्माण हुनेछ भने आगामी आवमा पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माण कम्पनी पञ्चस्तम्भ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिको भनाइ छ ।
पुरातात्विक तथा सार्वजिक महत्वका सम्पत्ति संरक्षण गर्ने राज्यको कर्तव्य भएको र त्यसको संरक्षणका लागि पुरातत्व विभागबाट बजेटको व्यवस्थापन भएपछि पुनःनिर्माण सुरु भएको नगरप्रमुख वाइबाले बताउनुभयो ।
नगरप्रमुख वाइबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । “नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ”, उहाँले थप्नुभयो, “उपभोक्ताले पनि जिम्मेवारीका साथ निर्माण भइरहँदा अवलोकन गरिरहनुपर्छ ।रासस
