नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पु¥याउनुभएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाउनुभएका विद्वान विदुषिका धारणा समेटिएको छ । पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, इश्वर बल्लभ, चूडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुङगाना, प्राध्यापक आनन्ददेव भट्ट, प्रा डा खगेन्द्र लुइँटेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिवगोपाल रिसाल, सूर्यविक्रम ज्ञावली र रमा शर्माबाट विभिन्न अवसरमा प्रदान गर्नुभएको शुभकामना सन्देश तथा धारणा समावेश छन् ।
विसं २००६ बाट नेपाली साहित्यको उन्नयनमा निरन्तर अतुलनीय योगदान दिँदै आउनुभएका श्रष्टा चटौत आजै ८८ वर्ष प्रवेश गर्नुभएकाले उहाँलाई कार्यक्रममा अभिनन्दनसमेत गरियो । पुस्तकमा उहाँले सुदूरपश्चिमको डोटी क्षेत्रका चारपुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी सङ्कलन गरिएका तथ्य एवं तथ्याङक प्रस्तुत गर्नुभएको छ ।
डा पुष्पराज भट्ट प्रधान सम्पादक रहनुभएको उक्त कृतिमा एक सय ७८ लेख समेटिएका छन् । पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताउनुभयो ।रासस