युरोपेली सङ्घ (ईयू) ले युक्रेन र सम्भावित अन्य नौ देशलाई समेट्ने गरी ‘सानो क्रान्ति’ गर्न लागेको फ्रान्सका युरोपमामिला मन्त्रीले शुक्रबार बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले बुधबार स्लोभाकियामा गरेको सम्बोधनमा २७ सदस्यीय ईयूको विस्तारको पक्षमा दृढताका साथ आफ्नो अडान राख्दै आश्चर्यचकित पार्नुभएको थियो ।

उहाँले भन्नुभयो, “विस्तार गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न हाम्रो होइन । तर हामीले यसलाई कसरी गर्ने यो सोचनीय बिषय हो ।” म्याक्रोँले सन् २०१९ मा अल्बानिया र नर्थ म्यासेडोनियासँगको ईयू सदस्यता वार्तामा भिटो लगाउनुभएको थियो ।

युरोपेली मन्त्री लरेन्स बुनले शुक्रबार भन्नुभयो, “ईयू सीमाको विस्तारले ‘ठूलो धक्का’ को प्रतिनिधित्व गर्दछ जुन समूहको कार्यप्रणालीमा परिवर्तनको आवश्यकता हुनेछ । पछिल्लो पटक सन् २००४ मा ईयूको व्यापक विस्तार भएको थियो।

उहाँले युरोप–१ रेडियोसँग भन्नुभयो, “यसको अर्थ हाम्रो नीतिहरू पुनरावलोकन गर्नु, बजेटमा, संस्थाहरूमा परिवर्तन गर्नु हो । यो ‘अर्को दशकको लागि परियोजना’ हुनेछ ।”

उहाँले भन्नुभयो, “ठूलो हुनुको अर्थ ‘हामी कसरी अघि बढ्न आफूलाई सङ्गठित गर्न सक्छौँ’ भनेर विचार गर्नु पनि हो । यो एउटा सानो क्रान्ति हो ।”

ईयू विस्तारका लागि म्याक्रोँको स्पष्ट समर्थन र युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल गराउने उहाँको समर्थन गर्न गत वर्षको फेब्रुअरीमा रूसले आफ्नो छिमेकीमाथि गरेको आक्रमणले बाध्य पारेको हो ।रासस