बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

उक्त नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले छलफलमा उठेका विभिन्न प्रश्नको जवाफ दिनुहुँदै प्रदेश आगामी आवको बजेटमा सबै सदस्यको सुझावलाई समेटिने बताउनुभयो ।

उहाँले सरकारको आगामी आवको नीति तथा कार्यक्रम जनमुखी, जनताप्रति जवाफदेही बोध गर्ने खालको तर्जुमा गरिएको र त्यसलाई प्रदेशको १३ वटै जिल्लामा क्रमशः स्रोतसाधन परिचालन गरी कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले नीति तथा कार्यक्रमलाई अझ प्रभावकारीरूपमा अघि बढाउन प्रत्येक सामुदायिक विद्यालयमा एक नर्सको व्यवस्थापन गर्ने र प्रदेशको १३ वटै जिल्लामा खरको छाना भएका नागरिकलाई अब क्रमशः जस्ताको छानो उपलब्ध गराउँदै लैजाने नीति अवलम्बन गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले सामुदायिक विद्यालयमा नीतिगत कार्यक्रम तर्जुमा गरी शिक्षालाई गुणस्तरीय, जवाफदेही र दक्ष जनशक्ति उत्पादनका लागि शिक्षकलाई सीपमूलक तालिम उपलब्ध गराउँदै लैजाने उद्देश्य रहेको बताउनुभयो ।रासस