१८ जेठ, काठमाडाैं ।
नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ गतेदेखि नाटक ‘त्रयम्’ तथा थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ गतेदेखि नाटक ‘बुद्ध’ र ‘भिखारी’ मञ्चन भइरहेको छ ।
काठमाडौँमा एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ जेठ २८ गतेसम्म मञ्चन हुनेछ । एक–अर्कासँग पटक्कै नमिल्ने स्वाभावका तीन युवती नजिक हुन् नसके पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एक–अर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो ।
नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ ।
“लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ, नाटकमा उठिरहेका विषय मेरो नजिकैका धेरै महिलाले भोगेका विषय हुन्, कतिले मलाई सुनाएका छन्, कतिले नभनी पनि मैले बुझेको छु, यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ”, निर्देशक रानाभाटले भन्नुभयो ।
यस्तै चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध’ र ‘भिखारी’लाई चेतन आङथुपोले नाट्य रूपान्तरण तथा अनुवादन तथा परिकल्पनासँगै निर्देशन अनिल सुब्बाले गर्नुभएको हो । “आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरेका छौँ”, निर्देशक सुब्बाले भन्नुभयो ।
नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिनुभयो । जेठ ३२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले अभिनय गर्नुभएको छ । स्राेत रासस