संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

आवासीय संयोजक हान्ना र उपाध्यक्ष डा श्रेष्ठबीच आज यहाँ भएको भेटमा आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपालको उपस्थितिबारे छलफल भएको छ ।

डा श्रेष्ठले छोटो समयमा लक्ष्य हासिल गर्नका लागि आवश्यकीय वित्तीय सहयोग, प्राविधिक सहयोग र पारस्परिक सहयोगका लागि छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिगो विकासका लक्ष्य हासिलको प्रगति समीक्षापछि बाँकी रहेको अवधिमा दिगो विकासका लक्ष्यलाई कसरी अघि बढाउने र कसरी सकेसम्म धेरै लक्ष्य हासिल गर्ने भन्ने विषयमा छलफल भयो ।”

आवासीय संयोजक हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसङ्घले सधैँ सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ सधँै नेपालको हित चाहन्छ । ” उहाँले दिगो विकास सम्मेलन तथा अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी गरिरहेको नेपालले विभिन्न चुनौतीका बाबजुद प्रशंसायोग्य काम गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारबीच समन्वय गर्न इच्छुक रहेको उहाँको भनाइ छ । “यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजकको कार्यालयले नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय निकायसँग समन्वय र सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । रासस