पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं (नेकपा माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित तस्बिर प्रदर्शनीको उहाँले आज अवलोकन गर्नुभएको हो । तस्बिर अवलोकनपछि राससको काम प्रशंसनीय रहेको बताउनुहुँदै उहाँले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराउँदै नेता कार्कीलाई ‘रासस ः हिजो र आज’ पुस्तक प्रदान गर्नुभयो ।

सो अवसरमा महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारीलगायत राससका पदाधिकारी एवं सञ्चारकर्मीले उहाँलाई स्वागत गर्नुभएको थियो ।

राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गर्नुभएको प्रदर्शनी सर्वसाधारण सबैका लागि खुला छ । बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने सो प्रदर्शनी आजसम्म सञ्चालन हुनेछ ।रासस