नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ ।
सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन बाँकी रहेको छ । कार्कीले भन्नुभयो, “सबै काम सकेर जेठ मसान्तभित्रमा तीनवटै पुल सञ्चालन गर्ने योजना रहेको छ ।”
अन्य चार पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । पुल बनाउने ठाउँको पहाड विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु भएको छैन । मुआब्जा वितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ । कार्कीका अनुसार तुइन खोलाको पुलबाहेक अन्य बाँकी रहेका पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को विस्फोटको प्रक्रियामा रहेको छ । यो पुलको भने टुङ्गो लाग्न सकेको छैन । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।रासस