स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवम् आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् ।
गोठाला खर्च, गाईका लागि घाँस, पराल, गोठ तथा चरन क्षेत्रको अभाव भएपछि समस्या हुँदै गएको हो । कृष्णगण्डकी आलमदेवी गौधाम व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण ढकालले सोचेजस्तो सहयोग नआउँदा गाईपालनमा समस्या थपिँदै गएको बताउनुभयो ।
“धार्मिक र चिकित्सकीय हिसाबले गाई महत्वपूर्ण भए पनि पछिल्लो समय हेलाको विषय बनेको छ”, उहाँले भन्नुभयो, “दिनमा पाँच÷सात जनाको गाई पाल्दिनुप¥यो भनेर फोन आउँछ, गौपालक कर्मचारीलाई तलब व्यवस्थापन, गाईको आहार र चरन क्षेत्रको समस्या भएकाले थप गाई राख्न सकेका छैनौँ ।”
स्थानीय तहको अघिल्लो सरकार हुँदा रु एक लाख र नयाँ सरकार आएपछि गौधामका लागि रु दुई लाख सहयोग प्राप्त गरेको उहाँले बताउनुभयो । ढकालले दुईजना कर्मचारीको मासिक तलब रु १५÷१५ हजार नगरपालिकाले व्यवस्थापन गरिदिए गौधाम सञ्चालनको जटिलता केही अन्त्य हुने सुनाउनुभयो । उहाँले गाई संरक्षणका लागि प्रदेश सरकारसँग पनि सहयोगको माग गरेको बताउनुभयो ।
“गौधाममा २३÷२४ गाई पाल्न मिल्ने गोठ छ, कहिलेकाहीँ कोचाकोच गरेर राख्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “दुई गोठाला बिहान ६ देखि बेलुकी ७ बजेसम्म गाईको दैनिक हेरचाह गर्छन् ।”
हाल आजीवन सदस्य बनेका र दाताले दिएको रकम तथा घाँस परालले गौधाममलाई जसोतसो चलाएको उहाँले बताउनुभयो । गाई गौधाममा ल्याउनेलाई आजीवन सदस्य बनाएर रु पाँच हजार एक सय लिने प्रावधान बनाइएको छ । त्यसले पनि थोरै सहयोग गरेको छ ।
दाताबाट सोचेजस्तो सहयोग नआउँदा गाई संरक्षणमा समस्या भएको गोठाला महेश कुँवरले बताउनुभयो । “गाईलाई आहारा र चरन क्षेत्रको समस्या छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म बल्लबल्ल चलाएका छौँ, हामीलाई पनि खान बस्न समस्या छ ।”
नगर उपप्रमुख हेमा न्यौपानेले गौ संरक्षणका लागि विगतका वर्षमा पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम गरेको बताउनुभयो । उहाँले संरक्षण गरेका स्थानमा भएका जटिलताको अध्ययन गरेर आउने दिनमा समस्या समाधानका लागि पहल र प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“गाई धार्मिक र औषधीय दृष्टिकोणले महत्वपूर्ण भए पनि पछिल्लो समय लोप हुँदै जानु अत्यन्त दःुखद पक्ष हो”, उहाँले भन्नुभयो, “सामूहिक छलफलद्वारा गाईपालनतर्फ सबैको आकर्षण कसरी बढाउनुपर्छ, निचोड निकाल्नैपर्छ, सरोकारवालाहरुले विषय उठाएको खण्डमा नगरपालिकाले गम्भीरतापूर्वक पहल र प्रयास गर्ने छ ।रासस
